४ स्कुलका विद्यार्थी एउटै पालमुनि
ठूलोगाउँ (रसुवा), जेष्ठ २० - हाकु र डाँडागाउँ गाविसका भूकम्पले क्षतिग्रस्त ४ विद्यालयका विद्यार्थीलाई एउटै पुलमुनि राखेर पढाउन थालिएको छ। हाकु ९ गोगनको कालिका प्रावि र मैलुङको बालउदय प्रावि, डाँडागाउँ ७ को चिप्लेटी प्रावि र सिम्ले प्राविका १ सय १६ विद्यार्थीलाई एकै स्थानमा राखिएको हो।
स्थानीय विस्थापित भएपछि ती स्थानका विद्यार्थीलाई नुवाकोटको मनकामना ९ स्थित त्रिशूली ३ ए जलविद्युत आयोजनाको प्रांगणमा राखेर पढाउन थालिएको हो। टेन्टका लागि युनिसेफले सहयोग गरेको छ। पढाउन सुरु गरिए पनि बालबालिकाले भने पढ्न रुचि देखाएका छैनन्।
ठूलोगाउँकी मीना गुरुङ विद्यालय आए पनि मनमा अझै टोलाउँछिन्। वैशाख १२ मा भूकम्प गएका बेला हत्तपत्त भागेर ज्यान बचाएकी उनी पुस्तकसमेत पुरिएकाले पढ्न त्यति मन नलाग्ने बताउँछिन्। उनले भनिन्, ‘अब बिस्तारै पढ्छु।’
शिक्षकहरूले विद्यार्थीहरूलाई चित्रकला, खेल, शारीरिक अभ्यासमार्फत पढ्न प्रेरित गरिरहेका छन्। बालउदय प्राविका आइसिं तामाङलाई पनि भूकम्पले डर लाग्ने बनाएको बताउँछन्। ‘शनिबारको दिन भएकाले पौडी खेल्दै थियौं,’ उनले भने, ‘घर लडेको त आफैंले देखी पढ्न अलि गार्हो भइरहेको छ।’ खेल्दै–पढ्दै गरिरहे पनि कताकता डर भने लागिरहने उनले बताए। उनीजस्तै अर्का विराज तामाङले पनि जमिन हल्लेजस्तो हुने जस्तो हुने गरेको बताए।
डाडागाउा ७ स्थित चिप्लेटी प्राविका प्रधानाध्यापक साधुराम सापकोटाले आफूहरूले पढाउँदै र खेलाउँदै गरेर विद्यार्थीको ध्यान तान्न खोजिरहेको बताए। ‘पढाउँदा पढाउँदै विद्यार्थीको ध्यान अन्तै जान्छ,’ उनले भने, ‘उनीको मनोभावना बुझेर पढाइरहेका छौं। भूकम्प आउँदैन भन्छौं, तर के गर्ने उनीहरूको मन मानेको छैन।’ भुमेदवी माविका अध्यक्ष शिरबहादुर गुरुङले आफ्नै अगाडि साथीभाइ र घर लडेपछि अतालिएर भागेका विद्यार्थीलाई पढ्न आउने वातावरण विस्तारै बस्ने बताए। टेन्टमा पढ्न सुरु गरे पनि विद्यार्थीहरूले पढ्न मानिरहेका छैनन्। कतिपयले टेन्टभन्दा पहिलेकै विद्यालयमा पढ्न पाए हुन्थ्यो भनेर गुनासो पोख्ने गरेको बालउदयका प्रअ सोती बताउँछन्।
प्रभावित क्षेत्रका विद्यार्थीलाई अहिले बसेकै ठाउँमा अध्ययन अध्यापन गर्ने गराउने गरी शिक्षक पठाइएको शिक्षा अधिकारी रामशरण सापकोटाले बताए। भूकम्पको मनमा परेको त्रास हटाउन रचनात्मक क्रियाकलाप गरेर विद्यार्थी स्कुल आउने वातावरण निर्माण गरिरहेको उनले बताए। रसुवामा १ सय ६० अस्थायी स्कुल बनाइए पनि ७५ प्रतिशतमात्रै पूरा भएको छ। बाँकी बन्दै गरेको शिक्षा कार्यालयले जनाएको छ।
0 comments
Write Down Your Responses