एन्फाका योजनाहरू शंकास्पद एन्फा अनियमितता प्रकरण

ANFA_Corruption-copy
पुस ११ - अखिल नेपाल फुटबल संघ (एन्फा) ले सञ्चालन गरेको गोल प्रोजेक्टका अरू योजनासमेत शंकास्पद भेटिएका छन् । अन्तर्राष्ट्रिय फुटबल महासंघ -फिफा) को सहयोगमा सञ्चालित गोल प्रोजेक्टको दोस्रो, तेस्रो र चौथो कार्यक्रमको योजना स्वीकृतिदेखि भुक्तानीसम्म नियम मिचेको खुलासा भएको हो ।
सन् २०१० को अक्टोबरमा सुरु गोल प्रोजेक्ट-३ मा तीन स्थानको फुटबल एकेडेमीको सशक्तीकरणका लागि फिफाले ४ लाख डलर एन्फालाई दिएको थियो । ललितपुर, धरान र बुटवलका एकेडेमीहरूको सशक्तीकरणका लागि थप १ लाखसहित ५ लाख डलर सहयोग आएको एन्फा स्रोतले बतायो । १२, १४ र १६ वर्षमुनिका तीन समूहका लागि २०/२० जनाको दरले तीन ठाउँमा कुल १ सय ८० फुटबल प्रशिक्षार्थीलाई आवासीय प्रशिक्षण दिन एकेडेमी सञ्चालन गरिएको फिफाको वेबसाइटमा स्पष्ट उल्लेख छ ।
तर, एन्फाको लेखासम्बद्ध स्रोतका अनुसार गोल-३ सञ्चालनका बेला धरान, काठमाडौं र बुटवलमा गरी ६५ जना विद्यार्थीले मात्रै प्रशिक्षण पाएका थिए । धरान र बुटवलमा यू-१२ का २०-२० जना मात्र थिए । अरू दुई उमेर समूहलाई एकेडेमीमा राखिएकै थिएन । रूपन्देही जिल्ला फुटबल संघका तत्कालीन अध्यक्ष हरि श्रेष्ठ भन्छन्, 'एन्फाले पठाएको पैसाले २० जनाको खर्च पनि पुग्दैनथ्यो । कसैसँग चामल, कसैसँग तेल त कसैसँग पैसा मागेर दुःखले एकेडेमी चलायौं । स्थानीय स्रोतबाट बर्सेनि चार लाख रुपैयाँ जुटाउनुपथ्र्यो ।' हाल यू-१७ का कप्तान विमल घर्तीमगर बुटवलकै उत्पादन हुन् ।
तीन वर्ष अवधिमा धरानमा एन्फाले ४४ लाख रुपैयाँमात्रै उपलब्ध गराएको कागजात स्रोतले कान्तिपुरलाई उपलब्ध गराएको छ । त्यसैगरी एन्फा टेक्निकल सेन्टर बुटवलमा पनि तीन वर्षको अवधिमा ४४ लाखमात्रै निकासा भएको छ । काठमाडौंमा प्रशिक्षण सञ्चालन गरे पनि त्यसको पूर्ण विवरण एन्फामा छैन । 'धरान र बुटवलमा गरी ८८ लाख रुपैयाँ निकासा भएको छ, काठमाडौंमा पनि त्यति नै रकम खर्च भएको मान्ने हो भने बढीमा दुई करोड खर्च भएको देखिन्छ,' एन्फाका उपाध्यक्ष कर्माछिरिङ शेर्पाले भने, 'बाँकी रकम कहाँ गयो ?'
फिफाको सहयोगमा चार चरणमा सञ्चालित गोल प्रोजेक्टको अनुदान निकासा र खर्च प्रणालीबारे हाल पदीय जिम्मेवारीमा नरहेका एन्फा अध्यक्ष गणेश थापाले कान्तिपुरलाई फरक-फरक प्रतिक्रिया दिए । 'गोल प्रोजेक्टको रकम फिफाले आफंै भुक्तानी दिने नियम छ, एन्फाको कुनै भूमिका हँुदैन,' कान्तिपुर कार्यालयमै आएका थापाले भनेका थिए । तर पछि लेखापरीक्षण प्रतिवेदनमा गोल प्रोजेक्ट-३ को रकम उल्लेख भएपछि थापाले 'फुटबल एकेडेमीहरूको ट्रेनिङको रकम एन्फामार्फत् नै खर्च भएको' बताए ।
झन्डै दुई दशकयता एन्फा नेतृत्वमा रहेका थापाले गोल प्रोजेक्ट-३ सञ्चालनमा अनियमितता नभएको दाबी गरे । 'एन्फाले हरेक वर्ष प्रशिक्षार्थीलाई तालिम दिंदै आएको छ,' उनले भने, 'कुनै वर्ष प्रशिक्षार्थीको संख्या कम भयो भन्दैमा रकम दुरुपयोग भो भन्न मिल्छ ?' उनले त्यसपछिका वर्षमा पनि गोल प्रोजेक्टअन्तर्गत एन्फाले प्रशिक्षण सञ्चालन गरेको दाबी गरे ।
एन्फाकै उपाध्यक्ष किशोर राई धरानमा एकेडेमी सञ्चालनलाई वाषिर्क ६ लाख स्थानीय स्रोतबाट जुटाउनुपरेको बाध्यता सुनाउँछन् । 'फिफाबाट बजेट आएको हामीलाई थाहै थिएन,' राईले भने, 'बजेट माग गर्दा एन्फामा एकेडेमी चलाउन पैसा छैन मात्र भन्थे ।'
 सन् २००५ को नोभेम्बरमा स्वीकृत गोल प्रोजेक्ट-२ मा चार लाख डलर आएको थियो । उक्त रकमबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र च्यासलको टेक्निकल सेन्टर मर्मत गरेको उल्लेख छ । 'मर्मतका नाममा रकम दुरुपयोग भएको छ,' स्रोतले भन्यो, 'उक्त सहयोग रकम र त्यसको विवरण एन्फाले आफ्नो वाषिर्क आम्दानी र लेखापरीक्षणमा उल्लेख गरेको छैन ।' सन् २०१२ मा सञ्चालित गोल प्रोजेक्ट-४ मा एन्फा कम्प्लेक्सको सुविधा विस्तार तथा आर्टिफिसियल टर्फ बिछ्याउँदा ५ लाख डलर खर्च भएको देखाइएको छ । उक्त रकम गणेश थापामार्फत् नै डीएल कन्सल्टेन्सी र रविना कन्स्ट्रक्सनमार्फत् खर्च भएको देखाइएको छ । तर गोल-४ का लागि एन्फामा बजेट नआएको र सोझै फिफाबाट परिचालन भएको थापाले दाबी गरे ।
अधिवक्ता रामकृष्ण निराला संयोजकत्वको छानबिन समितिले पनि एन्फा एकेडेमी सञ्चालन शंकास्पद भएको प्रतिवेदन बुझाएको थियो । १० देखि १४ वर्ष उमेरका खेलाडी बस्ने होस्टल र पढ्ने स्कुलसँग एकेडेमी सञ्चालनको खर्चबारे दुई पक्षीय सम्झौता नगरेको र करोडौंमा पेस्की खर्च देखाइएको उल्लेख छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.