‘राष्ट्रिय सङ्कट समाधान गर्न राष्ट्रिय सहमतिको सरकार’

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भूकम्पले निम्ताएको राष्ट्रिय सङ्कट समाधान गर्न सबै राजनीतिक दल एकजुट भई राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने बताएका छन्।
नेकपा (एमाले) काठमाडौँ क्षेत्र नं ७ सम्पर्क समन्वय कमिटीले बोहराटारस्थित टौडोलमा निर्माण गरेका अस्थायी घरटहरा हस्तान्तरण कार्यक्रम तथा स्वयंसेवाको अनुगमनका क्रममा उनले दलहरुबीच सहमति कायम नहुँदा आठ वर्षदेखि संविधान निर्माण हुन नसकेको अवस्थामा विधि पुर्‍याएर चाँडो भन्दा चाँडो संविधान जारी गर्ने प्रयत्न भइरहेको बताए।
उनले भने, ‘जनतालाई खुला आकाशमुनिबाट छानामुनि ल्याउन राष्ट्रिय स्वयम्सेवक परिचालन अभियानले सफलतापूर्वक भूमिका निर्वाह गरेको छ । हामीसँग पैसा छैन, सम्पत्ति छैन, तर आँट, जाँगर र अठोट छ।’
पार्टीका पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले अभियानका क्रममा १० दिनको अवधिमा त्यस क्षेत्रमा १०३ अस्थायी घरटहरा निर्माण तथा जोखिममा रहेका ९६ घर भत्काएको र चारवटा विद्यालयका लागि आठवटा घरटहरा निर्माण गरेको जानकारी गराए।
अनुगमनका क्रममा अध्यक्ष ओलीसहित पार्टीका उपमहासचिव विष्णु पौडेल, प्रमुख सचेतक अग्निप्रसाद खरेल, केन्द्रीय सदस्यद्वय सूर्य थापा र सावित्रा भूषाल, सभासदहरु् रामबीर मानन्धर, शान्ता मानवीलगायत सो क्षेत्रमा पुगेका थिए।
अभियानका सदस्य वसन्त मानन्धरले जनतालाई दुःख परेका बेला उनीहरुलाई सहयोग गर्नु कर्तब्य भएको विचार व्यक्त गर्दै सो अभियानले विभिन्न सङ्घ संस्थाको सहकार्यमा आज गोलढुङ्गामा १७ घरलाई जस्तापाता उपलब्ध गराएको बताए। रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.