एन्फा प्रमुख एएफसी र फिफा कंग्रेसमा गएनन्
काठमाडौं, जेष्ठ २० - अन्तर्राष्ट्रिय फुटबलमा सम्बन्ध विस्तारका लागि एएफसी र फिफा कंग्रेसलाई निकै महत्त्वपूर्ण मानिन्छ। यसपल्ट एसियाली फुटबल महासंघको निर्वाचनसहितको एएफसी कंग्रेस ३० अप्रिलमा बहराइनको मनामामा भयो। अन्तर्राष्ट्रिय फुटबल महासंघको फिफा कंग्रेस पनि २९ मेमा जुरिचमा सेप ब्लाटरलाई पाचौंपल्ट अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भयो। तर, हाल कार्यवाहक अध्यक्षको रूपमा अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्व गरिरहेका ललितकृष्ण श्रेष्ठ दुवै कंग्रेसमा सहभागी भएनन्।
२०५१ साल चैतमा एन्फा अध्यक्ष भएयता गणेश थापाले कुनै पनि एएफसी र फिफा कंग्रेस गुमाएका थिएनन्। उनी अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल गतिविधिमा सहभागी हुन नपाउने स्थितिमा छन्। एएफसीका पूर्वाध्यक्ष मोहम्मद बिन हमामबाट पैसा लिएकोलगायत आर्थिक गतिविधिमा उनीमाथि फिफाको इथिक्स कमिटीले छानबिन गरिरहेको छ र उनी १९ जुन, २०१५ सम्म फुटबल गतिविधिमा सहभागी हुन प्रतिबन्धित छन्। त्यसैले उनलाई एएफसी र फिफा कंग्रेसमा सहभागी हुने अवसर थिएन।
यस्तोमा कार्यवाहक अध्यक्षको रूपमा एन्फाको नेतृत्व गरिरहेका श्रेष्ठ आफैं एएफसी र फिफा कंग्रेसमा सहभागी नहुनुलाई शंकास्पद रूपमा हेरिएको छ। एएफसीका ४६ र फिफाका २ सय ९ सदस्यमध्ये फुटबल संघका प्रमुख सहभागी नभएको एकमात्र देश नेपाल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। १५ करोड डलर भ्रष्टाचार गरेको आरोपमा स्विस अधिकारीले अमेरिकी आग्रहअनुसार सात उच्च पदाधिकारीलाई पक्राउ र अध्यक्षमा ब्लाटरविरुद्ध प्रिन्स अलीको प्रतिस्पर्धाले चर्चा पाएको फिफा कंग्रेस शुक्रबार सकिएको थियो।
फिफा कंग्रेसमा एन्फाका केन्द्रीय सदस्य वसन्त अर्याल र रत्नकुमार श्रेष्ठ (तनहुँका अध्यक्ष पनि हुन्) तथा बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही सहभागी भएका थिए। लामो समयदेखि एन्फाको कार्यसमितिमा निरन्तर रहँदै आएका वसन्तलाई मतदान अधिकार दिएर पठाइएको थियो। उनीसहित रत्न पदीय जिम्मेवारीमा नरहेका थापानिकट मानिन्छन्। भोजराज शाही भने केही अघिसम्म उपाध्यक्ष कर्माछिरिङ शेर्पासँग नजिक थिए। शेर्पासहित अर्का उपाध्यक्ष विजयनारायण मानन्धर र केन्द्रीय सदस्य पंकज नेम्वाङले एन्फामा भ्रष्टाचार भएको भन्दै संसद्को सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका थिए। एन्फका अर्का उपाध्यक्ष किशोर राई पनि शेर्पाकै समूहमा छन्।
विधानअनुसार साधारणसभामा ‘वरिष्ठ उपाध्यक्ष’को निर्वाचन नगरेपछि श्रेष्ठलाई कार्यसमितिले विधानमै नभएको ‘प्रथम उपाध्यक्ष’ बनाएको थियो। उनी थापाका विश्वासपात्र हुन्। र उनैलाई आफूलाई पदीय अधिकार स्थगन गर्न लेखा समितिले निर्देशन दिएपछि थापाले कार्यवाहक अध्यक्ष बनाएका थिए। त्यसयता श्रेष्ठ एसियन कपको दौरान अस्ट्रेलियामा भएको एएफसी भेलामा सहभागी भएका थिए। तर, त्यसभन्दा महत्त्वपूर्ण एएफसी र फिफा कंग्रेसमा भने गएनन्। दुवैमा महासचिव धीरेन्द्र प्रधानलाई पनि पठाइएन।
‘विद्रोही’ पदाधिकारीले एन्फाको सबै कार्य अहिले पनि थापाकै निर्देशनअनुसार सञ्चालन भइरहेको आरोप लगाएका छन्। दुवै कंग्रेसमा सहभागीलाई पनि थापाकै निर्देशनमा एन्फाले पठाएको उनीहरूको आरोप छ। यसबारे प्रतिक्रिया लिने प्रयास गर्दा कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठ सम्पर्कमा आउन चाहेनन्। तर, उनले एएफसी कंग्रेसमा आफू नगएकोबारे किइराड्नेज डटकमलाई प्रतिक्रिया दिँदै भनेका छन्, ‘सम्झौता (कम्प्रोमाइज) गर्नुपरेकाले साथीहरूलाई पठाइएको हो।’ तर, के सम्झौता भन्नेबारे प्रस्ट्याइएको छैन।
एएफसी कंग्रेसमा केन्द्रीय सदस्य पुरुषोत्तम अधिकारी (सर्लाहीका अध्यक्ष पनि हुन्), सहायक महासचिव मणि कुँवर र सहकोषाध्यक्ष रवीन्द्र जोशीले एन्फाको प्रतिनिधित्व गरेका थिए। त्यसमा मतदान अधिकार अध्यक्ष थापाका सालोसमेत रहेका मणिलाई दिइएको थियो। यी तीनमध्ये पुरुषोत्तम मात्र १७ सदस्यीय कार्यसमितिभित्रका हुन्। मणि र रवीन्द्र मनोनीत पदाधिकारी हुन् तर उनीहरू विधानअनुसार कार्यसमितिभित्र पर्दैनन्। पुरुषोत्तम र रवीन्द्र पनि थापानिकट हुन्।
एएफसी र फिफा कंग्रेसमा सहभागी ६ सहित थापानिकट पदाधिकारीको पछिल्लो समय विदेश यात्रा बाक्लिँदो छ।
0 comments
Write Down Your Responses