सुरक्षित छन् पर्यटकीय गन्तव्य
सिउरुङ (लमजुङ), जेष्ठ १७ - बेसीसहरकी दूधकाशी गुरुङ अहिले गाउँ फर्केर पर्यटकको स्वागत सत्कारमा जुटेकी छन्। उनलाई पति पूर्णसिंह गुरुङले साथ दिएका छन्।
‘पर्यटकको स्वागत गर्न गाउँ आएँ,’ उनले भनिन्, ‘भूकम्पको डर हराउँदै गएपछि यता पनि पर्यटक आउन अलि बढ्छन् भन्ने लाग्छ।’ सहरमा बसेर खासै काम नहुने भएकाले गाउँमा आएर पर्यटकको स्वागतमा साथ दिन पाउँदा खुसी लागेको पूर्णसिंहले बताए। यी दम्पती जसरी नै सहरबजारमा बसेका युवाहरू पनि गाउँ फर्केर पर्यटकको स्वागत र बिदाइमा जुटेका छन्। सिउरुङमा पर्यटकको आगमन बिस्तारै बढ्न थालेको छ। ‘पहिलो गोराहरू निकै आउँथे। नेपाली पनि उत्तिकै हुन्थे। बजारमा बसेर वासको व्यवस्था मिलाउँथ्यौँ।’ गाउँ फर्केका लालजित गुरुङले भने। गाउँमा पर्यटक बढ्ने अपेक्षासँगै क्लबका पूर्वअध्यक्ष नन्द घले पत्नीका साथ गाउँमा छन्।
‘सिउरुङमा भूकम्पले केही प्रभाव पारेनछ,’ शिरखोला आमा समूह काउलेपानीकी अध्यक्ष प्रेमकाशी गुरुङले भनिन्। भूकम्पबाट गाउँमा पर्यटकको कमी आएकाले सिउरुङको स्थिति बुझ्न् आएको उनले सुनाइन्। ‘भूकम्पबाट गाउँ सुरक्षित भएको सन्देश देशविदेश पुर्‍याउनुपर्छ,’ सिउरुङ महोत्सवको क्रममा बिहीबार भेटिएकी उनले भनिन्। काउलेपानीको पर्यटन प्रवद्र्धनमा जुटेकी तिलमाया गुरुङले भूकम्पपछि गाउँमा पर्यटक आगमन घटेको र सकरात्मक सन्देश प्रवाह गर्न सके पर्यटक आगमन वृद्धि हुने बताइन्।
पर्यटन व्यवस्थापन उपसमिति सिउरुङका सचिव उमरबहादुर गुरुङले जिल्लाकै विभिन्न ठाउँमा भूकम्पले क्षति पुर्‍याए पनि गाउँमा भने कुनै क्षति नपुर्‍याएको बताए। ‘भूकम्पले गाउँमा पनि क्षति पुर्‍याएको भन्ने गलत सन्देश गएसँगै पर्यटक आगमन रोकियो,’ उनले भने, ‘पर्यटकीय गन्तव्य सुरक्षित भएकाले सबै पर्यटकलाई ग्रामीण पर्यटकीय गाउँको भ्रमणमा आउन आग्रह गर्छु।’ उनले सिउरुङमा रहेका १५ होमस्टेसहित १ सय २० वटा घर साथै सबै सम्पदाहरू भूकम्पबाट जोगिएको र सुरक्षित रहेको बताए। ‘गाउँमा पर्यटकका लागि सडकको सुविधा छ,’ उनले भने, ‘विभिन्न ठाउँमा पहिरो गए पनि हाम्रा सडकसमेत भूकम्पबाट सुरक्षित छन्।
लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार श्रेष्ठले सिउरुङसहित सार्क भिलेज घलेगाउँ, एउटै गाउँ र एउटै गाविस भुजुङ, उत्कृष्ट होमस्टे गाउँ काउलेपानी, पसगाउँ, घनपोखरा, खासुर, पुरानकोट लगायत ग्रामीण पर्यटकीय गाउँहरू सुरक्षित रहेको बताए। ‘वैशाख १२ को महाभूकम्प र २९ गतेको ठूलो कम्पनका कारण डराउनु स्वाभाविक थियो,’ उनले भने, ‘हामीले सबै हेरिसक्यौँ। पर्यटकीय गन्तव्यहरू सबै सुरक्षित छन्।’ उनले पर्यटकीय गाउँमा रहेका होमस्टे, संग्रहालय, सांस्कृतिक भवन, ऐतिहासिक सम्पदालाई भूकम्पले समस्या नपारेको बताए।

0 comments

Write Down Your Responses

Powered by Blogger.